काठमाडौं, २५ अगस्ट २०२६ — काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवननजिकै ड्युटीमा खटिएकी महिला प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जुम्लाको तातोपानी घर भएका २७ वर्षीय राज कठायत रहेका छन्। मंगलबार बिहान सडक पार गर्ने विषयमा विवाद भएपछि कठायतले ड्युटीमा रहेकी महिला प्रहरीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।
महिला प्रहरीले आकाशेपुल नजिकैबाट सडक पार गर्न खोज्दा कठायतलाई आकाशेपुल प्रयोग गर्न आग्रह गरेकी थिइन्। जहाँ पायो त्यहीँबाट सडक पार गर्दा दुर्घटना हुन सक्ने भन्दै उनले आकाशेपुलबाट जान भनेकी थिइन्।
त्यसपछि कठायतले महिला प्रहरीसँग विवाद गर्दै एक्कासि आक्रमण गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश सुवेदीले बताए।
उनका अनुसार पिक आवरमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीको सहयोगमा कठायतलाई नियन्त्रणमा लिएर पक्राउ गरिएको हो।






