सिरहा, अक्टोबर ३, २०२६ — सशस्त्र प्रहरीले सिरहामा ११० किलो ७६० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधारमा शुक्रबार राति करिब १ः३५ बजे औरही गाउँपालिका–१ को दरैया इलाकाबाट उनीहरूलाई पक्राउ गरिएको हो।
एसपी थापाका अनुसार सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको १५ जनाको टोलीले नेपालबाट भारततर्फ टाउकोमा बोकेर लैजाँदै गरेको अवस्थामा ६ बोरामा रहेको गाँजा बरामद गरेको हो।
बरामद गाँजाको तौल ११० किलो ७६० ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा औरही गाउँपालिका–२ देउरीपट्टीका ४३ वर्षीय मिश्रीलाल सदाय र ३१ वर्षीय मनिकलाल सदाय तथा धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन्।






