सिराहा, अक्टोबर १, २०२६ — सशस्त्र प्रहरी बलले सिराहामा १ हजार १०२ किलोभन्दा बढी गाँजा बोकेको गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सुरक्षा वेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले बिहीबार राति करिब १ बजे सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक, गागन खोलापुलबाट गाँजा बरामद गरेको हो।
टोलीले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो। ती सवारीसाधनमा गाँजा लैजाँदै गरिएको थियो।
२६ वटा बोरामा प्याक गरिएको गाँजाको कुल तौल १ हजार १०२.६५५ किलोग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ। गाँजा बोकेका सवारीसाधन छाडेर चालकहरू फरार भएका छन्।
बरामद गाँजा, बोलेरो गाडी र मोटरसाइकल आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।






