धनकुटा, अक्टोबर १३, २०२६ — धनकुटा नगरपालिका–८ स्थित तमोर नदीको किनारमा ढुंगामाथि फसेका २९ वर्षीय कामदारको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय युवाहरूको सहयोगमा सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सोमबार राति नदी किनारमा एक व्यक्ति फसेको सूचना प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो।
घटनास्थलमा पुगेको संयुक्त टोलीले रगुवा खोला क्षेत्रमा पुल निर्माण गर्दै आएको समिनारायण कन्ट्रक्स प्रा. लि. मा कार्यरत कामदार नदी किनारमा फसेको पत्ता लगाएको थियो।
स्थानीय युवाहरूको सहयोगमा वैकल्पिक बाटो हुँदै घटनास्थलमा पुगेर मध्यराति उनको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।
उद्धार गरिएका व्यक्ति मोरङको ग्रामथान गाउँपालिका–१ का २९ वर्षीय अर्जुन सरदार रहेको प्रहरीले जनाएको छ।






