वीरगञ्ज, सेप्टेम्बर १७, २०२६ — पर्साको वीरगञ्ज महानगरपालिका–१५ वास्तुबिहार चोकमा बेवारिसे अवस्थामा फेला परेको भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र ६ थान गोली बरामद भएको छ।
सशस्त्र प्रहरी बल, नेपालले यूपी १६ एजे ३३०१ नम्बरको भारतीय कारबाट बुधबार ती हतियार र गोली बरामद गरेको हो। कार वीरगञ्ज–१५ स्थित वास्तुबिहार चोकमा बेवारिसे अवस्थामा फेला परेको थियो।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले कारको तलासी लिएको थियो।
तलासीका क्रममा दुई थान कटुवा पेस्तोल, दुई थान सिक्सर पेस्तोल र ती हतियारमा प्रयोग हुने ७.६२ एमएमका ६ थान गोली बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद पेस्तोल, गोली तथा बेवारिसे कारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।






