काठमाडौं, सेप्टेम्बर २३, २०२६ — सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।
न्यायाधीश कुमार रेग्मीको इजलासले सरकारविरुद्ध भ्रम फैलाएको आरोपमा दाहाललाई थुनामा राखिएको विषयमा दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो।
दाहालकी छोरी डेनिकाले उनलाई रिहा गर्न माग गर्दै रिट दायर गरेकी थिइन्। उनले दाहाललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरेकी थिइन्।
प्रारम्भिक सुनुवाइका क्रममा इजलासले दाहाललाई पक्राउ गर्नुको आधार र कारण स्पष्ट पार्दै लिखित जवाफ पेस गर्न विपक्षीलाई आदेश दिएको छ।
यसैबीच, नेपाल प्रहरीको साइबर ब्युरोले मोरङको सलकपुरबाट आइतबार पक्राउ परेका दाहालमाथि अनुसन्धान गर्न अदालतबाट तीन दिनको म्याद लिएको छ।






