बारा, सेप्टेम्बर १९, २०२६ — बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटेलमा शनिबार साँझ स्थानीय ३५ वर्षीय शेरबहादुर खड्काको चक्कु प्रहारबाट हत्या भएको छ।
मेनरोडस्थित सम्झना स्टाफ होटेलमा शनिबार साँझ करिब ५ बजे खड्कामाथि चक्कु प्रहार भएको हो।
प्रहरीका अनुसार चक्कु प्रहारबाट खड्काको घाँटीमा गम्भीर चोट लागेको थियो। उपचारका लागि वीरगञ्ज पुर्याइएका उनलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टले घटनाको अनुसन्धान भइरहेको बताए। उनले घटनामा संलग्नहरू फरार रहेको जानकारी दिए।
खाजा खान आएका समूहबीच विवाद भएपछि होटेलको भान्सामा रहेको चक्कु खड्कामाथि प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।






