बिहार, भारत, अक्टोबर ४, २०२६ — भारतको सशस्त्र सीमा बल (एसएसबी) ले भारत–नेपाल सीमास्थित नायकटोला गाउँनजिक तस्करीविरुद्धको कारबाहीका क्रममा २४ बोरा चकलेटसहित ६ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। बरामद चकलेटको तौल ९६० किलो रहेको एसएसबीले जनाएको छ।
एसएसबीका अनुसार ७१औँ वाहिनीअन्तर्गत ई–कम्पनी बीओपी नायकटोलाको टोलीले शनिबार साँझ विशेष सूचनाका आधारमा कारबाही गरेको हो। उक्त क्षेत्र नेपालको बारा जिल्लासँग सीमा जोडिएको छ।
नेपालबाट सामान लोड गरिएका साइकलमा भारत प्रवेश गरी नेपालतर्फ फर्किरहेका व्यक्तिमाथि निगरानी राखिएको एसएसबीले जनाएको छ। शंकास्पद गतिविधि देखिएपछि टोलीले क्षेत्र घेराबन्दी गरी उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
तलासीका क्रममा ६ वटा साइकलमा लोड गरिएका २४ बोरा चकलेट बरामद भएको एसएसबीले जनाएको छ। ती चकलेट भारतबाट अवैध रूपमा नेपालतर्फ लैजाँदै गरिएको अवस्थामा उनीहरू पक्राउ परेको एसएसबीको भनाइ छ।
पक्राउ पर्नेमा बारा जिल्लाको कलैया उपमहानगरपालिका–मटिअर्वा गाउँका ४० वर्षीय राजु महतो, ४८ वर्षीय रामानन्द महतो, ४५ वर्षीय सुरेन्द्र महतो, ४७ वर्षीय रामप्रवेश मण्डल, ४५ वर्षीय महेन्द्र महतो र २२ वर्षीय विकासकुमार मण्डल रहेका छन्।






