बारा, सेप्टेम्बर १८, २०२६ — बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही गाउँका करिब ६५ वर्षीय असम्जान मियाँ रहेका छन्। प्रहरीले उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
आरोपीलाई पक्राउ गरी प्रहरी चौकीमा ल्याएपछि आक्रोशित स्थानीयले राति प्रहरी चौकी घेराउ गरेका थिए। उनीहरूले आरोपीमाथि कडा कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए।
राति करिब ९ः२० बजेपछि प्रहरी चौकी आसपासको अवस्था तनावपूर्ण बनेको थियो। स्थानीयले आरोपीलाई आफ्नो जिम्मा लगाउनुपर्ने मागसमेत गरेका थिए।
प्रहरीले भने आरोपीलाई नियन्त्रणमै राखेर घटनाको अनुसन्धान कानुनी प्रक्रियाअनुसार अघि बढाइरहेको जनाएको छ।






