बारा, अक्टोबर ८, २०२६ — निजगढ नगरपालिका–१२ रामथलीमा घरायसी विवादका क्रममा श्रीमान्को कुटपिटबाट ४७ वर्षीया महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादका क्रममा आफ्नी श्रीमती ४७ वर्षीया सुकुमाया मोक्तानलाई कुटपिट गरेका थिए ।
बुधबार बेलुका कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायालाई स्थानीय मेडिकलबाट चिकित्सकलाई घरमै बोलाई जाँच तथा औषधी उपचार गराइएको थियो । तर बिहीबार बिहान करिब ४ बजे उठाउन खोज्दा उनी नउठेपछि घटनाबारे बिहान ६:४० बजे अस्थायी प्रहरी पोष्ट रतनपुरमा जानकारी गराइएको थियो ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, बारा पठाएको छ ।
घटनामा संलग्न विजय मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






