नुवाकोट, ७ सेप्टेम्बर २०२६ — राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्।
अवलोकनका क्रममा राष्ट्रपति पौडेलले बाढी प्रभावित तथा पीडितहरूसँग भेटघाट गरी उनीहरूका गुनासो र समस्यासमेत सुनेका छन्।
उनले नुवाकोटमा भोटेकोशी बाढीको प्रभाव र त्यसबाट भएको क्षतिबारे जिल्ला सुरक्षा समितिसँग जानकारी लिएका थिए। सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित समितिका सदस्यहरूले बाढीले जिल्लामा पुर्याएको धनजनको क्षतिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।
प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोजी, उद्धार, राहत वितरण, पुनर्स्थापना तथा तत्काल आवश्यक निर्माण कार्यका सम्बन्धमा भइरहेका प्रयासबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।
राष्ट्रपति पौडेलले नुवाकोटमा बाढी प्रभावितहरू बसिरहेको होल्डिङ सेन्टरको समेत अवलोकन गरेका छन्।






