काठमाडौँ, २७ अगस्ट २०२६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
पार्टीले आफ्ना सबै राजनीतिक तथा सांगठनिक गतिविधि अनिश्चितकालका लागि स्थगित गर्दै स्रोतसाधन विपद् प्रतिकार्यमा केन्द्रित गर्ने निर्णयसमेत गरेको छ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीलगायत जिल्लामा बाढीका कारण भएको ठूलो जनधनको क्षतिको समीक्षा गर्न बुधबार बसेको पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
रास्वपाका महासचिव बिपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिअनुसार पार्टीले ५० लाख रुपैयाँ सरकारको राहत कोषमा एकद्वार प्रणालीमार्फत उपलब्ध गराउनेछ।
राहत वितरणमा पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्न अन्य व्यक्ति तथा संस्थालाई पनि एउटै संयन्त्रमार्फत राहत सहयोग उपलब्ध गराउन पार्टीले आग्रह गरेको छ।






