मनिला, फिलिपिन्स, २८ अगस्ट २०२६ — एसियाली विकास बैंक (एडीबी) ले अगस्ट २६ मा भोटेकोसी र त्रिशूली नदी प्रणाली आसपासका बस्तीमा आएको विनाशकारी बाढी तथा गेग्रान बहावपछि उद्धार र राहत कार्यका लागि ५० लाख अमेरिकी डलरको आपत्कालीन अनुदान स्वीकृत गरेको छ।
एडीबीका अध्यक्ष मासातो कान्डाले उक्त सहयोगबाट प्रभावित समुदायलाई खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय र औषधिसहितका अत्यावश्यक सामग्री तथा सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताएका छन्।
“क्षति विनाशकारी छ र यसको पूर्ण विवरण अझै संकलन भइरहेको छ। तर यो सहयोगले सबैभन्दा बढी आवश्यकता भएका मानिससम्म अत्यावश्यक सहायता पुर्याउन मद्दत गर्नेछ,” कान्डाले भने।
एडीबीका अनुसार विपद्का कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति, घाइते तथा विस्थापनसँगै घर, पूर्वाधार र अत्यावश्यक सेवामा गम्भीर क्षति पुगेको छ।
नेपाल सरकारले प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दै ठूलो स्तरमा उद्धार तथा राहत अभियान सञ्चालन गरिरहेको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार र क्षति मूल्यांकनको काम जारी छ।






