नवलपुर, अक्टोबर ३, २०२६ — नवलपरासी पूर्वको दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये पाँच जनाको पहिचान खुलेको छ।
मृत्यु हुनेमा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निरजुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँकेको कोहलपुर नगरपालिका–१० का ५५ वर्षीय यकेन्द्रराज रेग्मी र नेपालगन्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष्ण कनौजिया रहेका छन्।
प्रहरीका अनुसार मृत्यु भएका छैटौँ व्यक्तिको पहिचान खुल्न बाँकी छ। उनी पुरुष हुन्।
प्रदेश ३-०१-००६ ख १५५३ नम्बरको बस नेपालगन्जबाट काठमाडौं आउँदै गर्दा चालकले नियन्त्रण गुमाएपछि विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा दुर्घटनामा परेको थियो। बस सडक छेउको नालीमा पल्टिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चालकसहित बसमा १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएको र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।






