सिन्धुली, अक्टोबर १६, २०२६ — काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो सिन्धुलीको खुर्कोटमा सडकबाट करिब १० मिटर तल खस्दा कम्तीमा ९ जना घाइते भएका छन्।
बीपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर अगाडि बा प्र ०३–००१ ख २७७४ नम्बरको बस दुर्घटनामा परेको हो। बस पछाडि सार्ने क्रममा सडकबाट तल खसेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार यात्रुहरूले होटलमा खाना खाएपछि बस अगाडि बढाउनुअघि पछाडि सारिएको थियो। सोही क्रममा बसको पछाडिको चक्का नालामा परेपछि बस अनियन्त्रित भई सडकबाट तल खसेको श्रेष्ठले जानकारी दिए।
दुर्घटनालगत्तै घटनास्थल पुगेका प्रहरी र स्थानीयवासीको टोलीले घाइतेहरूको उद्धार गरेको थियो। हालसम्म उद्धार गरिएका ९ जनालाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पताल पठाइएको छ।
बसमा कुल कति यात्रु सवार थिए भन्ने यकिन विवरण खुल्न सकेको छैन। अन्य घाइते हुन सक्ने व्यक्तिहरूको उद्धार कार्य जारी रहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।






