गैँडाकोट, १२ सेप्टेम्बर २०२६ — नवलपरासी (पूर्व) को गैँडाकोट नगरपालिका–१२ हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।
शनिबार बिहान करिब ६:५० बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशामा पछाडिबाट आउँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले ठक्कर दिएको थियो।
लु.२ ख ६४५७ नम्बरको बसमा सवार दुई जना घाइते भएका छन्। घाइते हुनेमा कालिकोटको तिलागुफा नगरपालिका–३ का ३६ वर्षीय धनमान हमाल र नवलपरासी (पूर्व) को गैँडाकोट नगरपालिका–५ की ६० वर्षीया लीला थापा रहेका छन्। उनीहरू दुवैको पुरानो चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
लु.२ ख ६०३६ नम्बरको बसमा सवार १६ जना घाइते भएका छन्। उक्त बसका ४७ वर्षीय चालक चितवनको भरतपुर महानगरपालिका–४ का सन्तोषबहादुर गुरुङ पनि घाइते भएका छन्।
नयाँ चितवन मेडिकल कलेजमा उक्त बसका चालक गुरुङसहित सात जना घाइतेको उपचार भइरहेको छ। उनीहरूमा गैँडाकोट–७ की १२ वर्षीया आत्रिया पौडेल, गैँडाकोट–१५ की ४० वर्षीया माधवा ज्ञवाली, गोरखाका ३५ वर्षीय शंकर बयलकोटी, गैँडाकोट–२ की ३८ वर्षीया सीता ज्ञवाली, सोही स्थानकी ११ वर्षीया जस्विन ज्ञवाली र चितवनको रत्ननगर नगरपालिका–२ की १० वर्षीया दिवा रानाभाट रहेका छन्।






