नवलपुर, ३० अगस्ट २०२६ — रसुवाको भोटेकोसी बाढीबाट उद्धार गरिएका यात्रु बोकेको बस आइतबार नवलपुरको कावासोती नगरपालिका–१६ स्थित डाँडामा दुर्घटना हुँदा ३८ यात्रुमध्ये ३२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार घाइतेमध्ये २७ जनाले प्राथमिक उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने पाँच जना उपचाररत छन्।
बर्दियाका नरेश थारू, अछामका विनोद नेपाली, बाँकेका श्यामु बीके र पूर्वी रुकुमकी ममता परियारको नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, सुर्खेतकी रिता गन्धर्वलाई थप उपचारका लागि चितवनस्थित ओल्ड मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ।
लु १ प्र ०१–००१ ख ०३८६ नम्बरको उक्त बस विपद्पछि रसुवाबाट काठमाडौं ल्याइएका बाढीपीडित तथा उद्धार गरिएका यात्रुलाई लिएर बर्दियातर्फ जाँदै थियो।






