सिड्नीका रजिस्टर्ड माइग्रेसन एजेन्ट निरज श्रेष्ठले नयाँ व्यवस्था विशेषगरी अस्ट्रेलियामा रहेका र अर्को विद्यार्थी भिसाका लागि आवेदन गर्ने तयारीमा रहेका वा अध्ययनको तह तथा विषय परिवर्तन गर्न चाहने विद्यार्थीका लागि महत्त्वपूर्ण रहेको बताए।
उनका अनुसार केही विद्यार्थीले नयाँ भिसा प्रक्रियाका लागि अब अस्ट्रेलिया छाड्नुपर्ने हुन सक्छ, जसले हवाई यात्रा, बसाइँ र आवेदनसँग सम्बन्धित अतिरिक्त खर्च थप्न सक्छ। परिवारसहित अस्ट्रेलियामा रहेका विद्यार्थीका लागि आफू कुनै अपवादभित्र पर्छु कि पर्दिनँ भन्ने विषय झन् महत्त्वपूर्ण भएको उनले बताए।
श्रेष्ठका अनुसार नयाँ व्यवस्थाको मुख्य उद्देश्य भिसा र बसाइँलाई वास्तविक अध्ययनभन्दा प्राथमिकता दिने ‘भिसा हपिङ’ तथा ‘कोर्स हपिङ’ नियन्त्रण गर्नु हो। तर यसको प्रभाव वास्तविक विद्यार्थीमा पनि पर्न सक्ने भएकाले आवेदनअघि आफ्नो अवस्था र लागू हुने छुटबारे स्पष्ट जानकारी लिनुपर्ने उनले बताए।
नयाँ नियमपछि अस्ट्रेलियामा अध्ययन गर्ने निर्णयअघि विद्यार्थीले थप योजना बनाउनुपर्ने भएको छ। विशेषगरी अस्ट्रेलिया पुगेपछि अर्को विद्यार्थी भिसा आवश्यक पर्न सक्छ कि सक्दैन, कोर्स वा शिक्षा प्रदायक परिवर्तन गर्नुपर्ने सम्भावना छ कि छैन, परिवारलाई पछि बोलाउने योजना छ कि छैन र आफू कुनै अपवादभित्र पर्छु कि पर्दिनँ भन्ने विषय आवेदनअघि नै जाँच्नुपर्नेछ।
अस्ट्रेलियाको गृह मामिला विभागले गलत स्थानबाट गरिएको आवेदन अमान्य हुन सक्ने र त्यसले भविष्यको भिसा अवस्थासमेत प्रभावित पार्न सक्ने चेतावनी दिएको छ। विभागले शिक्षा प्रदायक वा एजेन्टको मौखिक सुझावमा मात्र निर्भर नभई आधिकारिक नियम हेरेर योजना बनाउन आग्रह गरेको छ।