लन्डन, बेलायत, अक्टोबर ६, २०२६ — बेलायतको गृह मन्त्रालयले बकिङ्घमशायर न्यू युनिभर्सिटीको अन्तर्राष्ट्रिय विद्यार्थी प्रायोजन गर्ने ‘स्टुडेन्ट स्पोन्सर लाइसेन्स’ निलम्बन गरेको छ। यसबाट करिब २५० नेपाली विद्यार्थीसहित विश्वविद्यालयमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थी प्रभावित भएका छन्।
निलम्बन सेप्टेम्बर ३० देखि तत्काल लागू भएको हो र विश्वविद्यालयलाई विद्यार्थी प्रायोजन गर्न अनुमति पाएका संस्थाहरूको बेलायती दर्ता सूचीबाट हटाइएको छ। विश्वविद्यालयले आफ्नो प्रायोजनसम्बन्धी दायित्व पालना गरेको विषयमा देखिएको चिन्ताका कारण यो कदम चालिएको बेलायतको गृह मन्त्रालयले जनाएको छ।
विश्वविद्यालयलाई निर्णयविरुद्ध जवाफ दिन र आफ्नो लाइसेन्स पुनःस्थापना हुनुपर्ने आधार तथा प्रमाण पेस गर्न २० कार्यदिवसको समय दिइएको छ। विश्वविद्यालयले लाइसेन्स पुनःस्थापना गर्नुपर्ने देखाउन नसकेमा लाइसेन्स खारेज गरिने गृह मन्त्रालयले जनाएको छ।
निलम्बन भएको कारण मात्रै हाल अध्ययनरत विद्यार्थीको पढाइ तत्काल रोकिँदैन। गृह मन्त्रालयका अनुसार विश्वविद्यालयबाट हाल प्रायोजन पाएका विद्यार्थीको बसाइ अनुमति वैध रहेसम्म निलम्बन अवधिमा उनीहरूले अध्ययन जारी राख्न सक्छन्।
विश्वविद्यालयको लाइसेन्स अन्ततः खारेज भएमा र विद्यार्थीको बसाइ अनुमति कटौती गरिएमा सामान्यतया उनीहरूलाई नयाँ प्रायोजक खोजी थप बसाइ अनुमतिका लागि आवेदन दिन ६० क्यालेन्डर दिन, वा हालको अनुमतिमा बाँकी रहेको अवधि ६० दिनभन्दा कम भए त्यति अवधिको समय दिइन्छ। तोकिएको अवधिभित्र नयाँ प्रायोजक नपाएमा उनीहरूले बेलायत छाड्नुपर्ने हुन्छ।






