उदयपुर, अक्टोबर १४, २०२६ — उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा ‘सानो दारे’ नामले चिनिने वयस्क जंगली भाले हात्ती मंगलबार मृत अवस्थामा फेला परेको छ।
करिब २०–२५ वर्षको अनुमान गरिएको उक्त हात्ती कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार हात्ती एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो।
हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए। यद्यपि, पोस्टमार्टम परीक्षणपछि मात्रै मृत्युको वास्तविक कारण पत्ता लाग्नेछ।
कोशीटप्पु वन्यजन्तु आरक्षको सीमा क्षेत्रमा हात्ती मृत भेटिएकाले आरक्षले बुधबार पोस्टमार्टम गर्ने श्रेष्ठले जानकारी दिए।






