सुनसरी, अक्टोबर ५, २०२६ — सुनसरीको इनरुवा–३ स्थित सखुवागाछी चोकबाट प्रहरीले २ हजार ५ सय ६६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रमुख पुष्पराज मल्लका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकलाई सखुवागाछी चोकमा रोकेर जाँच गर्दा गाँजा बरामद भएको हो।
ट्रकमा बोकिएको बन्दा भित्र गाँजा लुकाएर लैजाँदै गरेको अवस्थामा ८३ बोरामा प्याक गरिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा शहीदभूमि गाउँपालिका–२ का ३३ वर्षीय ट्रक चालक राजु राई र चालकका सहयोगी १८ वर्षीय सन्दीप राई रहेका छन्।
सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।






