सुनसरी, १९ अगस्ट २०२६ — सुनसरीको कप्टानगन्जमा भएको हिंसात्मक झडपका क्रममा तीन जनाको मृत्यु सुरक्षाकर्मीले चलाएको गोलीबाट भएको सरकारी छानबिन समितिले निष्कर्ष निकालेको छ। घटनामा बाहिरी समूह वा घुसपैठकर्ताको संलग्नता रहेको आशंकालाई समितिले अस्वीकार गरेको छ।
गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित छानबिन समितिले घटनामा संलग्न तथा सम्बन्धित व्यक्तिहरूसँग बयान लिनुका साथै घटनाको विस्तृत अध्ययन गरेपछि मंगलबार मन्त्रालयमा प्रतिवेदन बुझाएको हो।
समितिका एक सदस्यका अनुसार घटनामा बाहिरी समूह वा घुसपैठकर्ताको संलग्नता रहेको कुनै प्रमाण छानबिनका क्रममा फेला परेन।
देवानगन्ज गाउँपालिका–३ को कप्टानगन्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्न खटिएको प्रहरी टोलीले अवस्था नियन्त्रणबाहिर गई प्रहरी तथा अर्को अल्पसंख्यक समुदायका सदस्यहरूको ज्यान जोखिममा परेपछि गोली चलाउनुपरेको समितिको निष्कर्ष छ।
समितिका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले घटनाका क्रममा कुल २० राउन्ड गोली चलाएका थिए। सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र मेहताको मृत्यु भएको हो।






