गोरखा, नोभेम्बर ६, २०२६ — बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने खानेनुन उत्तरी गोरखाका विकट गाउँमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्म पर्ने गरेको छ। सडक पहुँचको अभाव र महँगो ढुवानीका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले नुनलगायत दैनिक उपभोग्य वस्तु महँगो मूल्यमा किन्नुपरेको छ।
नेपालमा खानेनुन आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो २६ रुपैयाँ, न्यू शक्ति नुनको २० रुपैयाँ र भानु नुनको नौ रुपैयाँ तोकेको छ। तर हिमालपारिको चुमनुब्रीका विभिन्न बस्तीमा एक प्याकेट आयो नुनको मूल्य ६० देखि २०० रुपैयाँसम्म पर्ने गरेको छ। बस्ती जति दुर्गम छ, नुनको मूल्य पनि त्यति नै बढी छ।






