गोरखा, अक्टोबर ११, २०२६ — आइतबार बिहान बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा जिल्लामा १० जना बेपत्ता बनाएको छ भने ६ वटा पुल बगाउनुका साथै विभिन्न बस्तीमा क्षति पुर्याएको छ।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको छ।
बाढीले आरुघाट, त्रिपुरासुन्दरी र सोती–मान्बुका मोटरेबल पुल बगाएको बताइएको छ। धार्चे गाउँपालिकाका वडा नम्बर १ र ३ जोड्ने बेली पुल पनि बाढीले बगाएको छ।
त्यसैगरी, माछीखोलालाई करौजासँग, ठाडोभ¥याङलाई जगतसँग तथा घट्टेखोलालाई फिलिमसँग जोड्ने पैदल पुलहरू पनि बाढीले बगाएको छ।
चुमनुब्री गाउँपालिका–३ अन्तर्गत पैन्यु र बगरका करिब ३५ घर बाढीले बगाएको छ। जगत, सल्लेरी, दोभान र घट्टेखोलाका बस्तीमा पनि क्षति पुगेको छ।






