चितवन, अक्टोबर २, २०२६ — नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव, रोग तथा परजीवीको सङ्क्रमण, साना खपटेको प्रकोप र अव्यवस्थित मह सिकारका कारण मौरीपालन तथा जङ्गली मौरी संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।
मौरीपालन विकास केन्द्र, भण्डाराका कार्यालय प्रमुख सुजन अमगाईंका अनुसार मौरीपालक किसानले पछिल्लो समय मौसममा आएको परिवर्तनसँगै चरनको अभाव, रोग तथा परजीवीको सङ्क्रमण र साना खपटेको प्रकोपजस्ता समस्या एकैसाथ सामना गर्नुपरेको छ।
अमगाईंका अनुसार नेपालमा उत्पादन हुने कुल महमध्ये एपिस मेलिफेराले ६५ प्रतिशत, एपिस सेरेनाले २८ प्रतिशत र एपिस डोर्साटा, एपिस लेबरियोसा तथा एपिस फ्लोरियालगायतका जङ्गली मौरीले ७ प्रतिशत योगदान गरेका छन्।
विज्ञ जोशीका अनुसार नेपालको वनजङ्गल, खेती प्रणाली र प्राकृतिक चरन क्षमतालाई हेर्दा देशमा १० लाखसम्म मौरीका गोला पाल्न सकिने क्षमता छ। उचित व्यवस्थापन र प्रवर्द्धन गर्न सके वार्षिक २० हजार मेट्रिक टनभन्दा बढी मह उत्पादन गर्न सकिने उनले बताए। हाल देशभर करिब १६ हजार ५०० घरपरिवार प्रत्यक्ष रूपमा मौरीपालनमा आबद्ध छन्।
बागमती प्रदेशको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव सुधीर श्रेष्ठले पारिवारिक तथा उपभोक्तामैत्री महको प्याकेजिङमा जोड दिए। उनले महको गुणस्तर कायम गर्दै आकर्षक प्याकेजिङ र प्रभावकारी प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए।






