नयाँदिल्ली, भारत, अक्टोबर १४, २०२६ — नेपालका गृहमन्त्री सुधन गुरुङले जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद् जोखिम सामना गर्न बिमस्टेक क्षेत्रमा संयुक्त कार्यदल गठन गर्न प्रस्ताव गरेका छन्।
सोमबार नयाँदिल्लीमा सम्पन्न बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै गुरुङले हिमालदेखि समुद्रसम्म परिचालन हुन सक्ने संयुक्त कार्यदल गठन गर्नुपर्ने बताएका हुन्।
उनले पछिल्लो दुई महिनामा नेपालले भोटेकोशी, मनाङ–मुस्ताङ र गोरखाको बूढीगण्डकी क्षेत्रमा भोगेका बाढीका घटनाले विपद् व्यवस्थापनमा क्षेत्रीय सहकार्यको आवश्यकता देखाएको बताए।
गुरुङले बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा निर्माण गर्न पनि जोड दिए। जलवायु परिवर्तनका कारण उत्पन्न विपद्को प्रभावकारी सामना गर्न सदस्य राष्ट्रहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
क्षेत्रीय सुरक्षा सहकार्य, अन्तरदेशीय अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा समन्वय बढाउने उद्देश्यले आयोजित बैठकले दिल्ली घोषणापत्र जारी गरेको छ। नेपालको गृह मन्त्रालयका अनुसार घोषणापत्रमा क्षेत्रीय सुरक्षा सहकार्यलाई संस्थागत र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।






