अध्यक्ष मिश्रले काम सम्पन्न गरेका व्यवसायीले रकम पाउनुपर्ने र प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नहुँदा भुक्तानी रोकिन नहुने बताए।
६० करोड रुपैयाँभन्दा बढी भुक्तानी दायित्व
विराटनगर महानगरपालिकाको आधिकारिक बजेट तथा कार्यक्रमसम्बन्धी विवरणअनुसार अघिल्लो आर्थिक वर्षबाट सरेका दायित्व र बहुवर्षीय योजनासहित १४४ वटा आयोजना तथा कार्यक्रमको ठूलो रकम भुक्तानी हुन बाँकी छ।
महानगरपालिकाले उपभोक्ता समिति, ठेक्का, दरभाउपत्र, कोटेसन तथा परामर्श सेवामार्फत सञ्चालन गरेका विकास निर्माणका कामको ६० करोड रुपैयाँभन्दा बढी दायित्व चालु आर्थिक वर्षमा सरेको विवरणमा उल्लेख छ।
प्रत्यक्ष जनसहभागितामा उपभोक्ता समितिमार्फत सम्पन्न ३३ वटा योजनाको २ करोड ८० लाख ४५ हजार ६६१ रुपैयाँ ३८ पैसा भुक्तानी हुन बाँकी छ। ती योजनामा सडक कालोपत्रे, आरसीसी ढलान, गिटी–ग्राभेल, सामुदायिक भवन, छात्रवास तथा धार्मिक स्थलका कम्पाउण्ड वाललगायतका काम छन्।
त्यस्तै, टेन्डरमार्फत सञ्चालन गरिएका १७ वटा योजनाको ४ करोड ४३ लाख ९३ हजार रुपैयाँ दायित्व सरेको छ। यसमा सडक स्तरोन्नति, नाला निर्माण, बक्स कल्भर्ट, सब–बेस तथा ग्राभेलिङ र वाचनालय भवन निर्माणका काम समावेश छन्।
महानगरका २१ वटा ठूला तथा बहुवर्षीय योजनामा सम्झौताअनुसार ४५ करोड ९१ लाख ९८ हजार ५७३ रुपैयाँ १८ पैसा भुक्तानी हुन बाँकी छ। तर चालु आर्थिक वर्षमा यी योजनाका लागि महानगरले २३ करोड ३७ लाख ३१ हजार ४७३ रुपैयाँ मात्र विनियोजन गरेको छ।
ती योजनामा वडा कार्यालय भवन, बहुप्राविधिक शिक्षालय, वीरेन्द्र सभागृह, प्रधानमन्त्री पार्क, अस्फाल्ट सडक तथा ढल निकासका आयोजना छन्।
कोटेसनमार्फत सञ्चालन गरिएका ४४ वटा साना तथा मझौला योजनाको ३ करोड ६० लाख ५२ हजार २३४ रुपैयाँ भुक्तानी हुन बाँकी छ। यसमा सडक सौन्दर्यीकरण, मन्दिर तथा सामुदायिक भवन निर्माण, नाला तथा स्ल्याब ढलान, कल्भर्ट, रिटेनिङ वाल र खेलकुद पूर्वाधारका काम रहेका छन्।
महानगरले विस्तृत परियोजना प्रतिवेदन, जलविज्ञानसम्बन्धी अध्ययन, यातायात गुरुयोजना तथा सुपरिवेक्षणलगायतका प्राविधिक काममा संलग्न परामर्शदातालाई सात वटा योजनाबापत ८५ लाख २५ हजार २४ रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
दरभाउपत्रमार्फत सम्पन्न भएका २२ वटा आयोजनाको पनि ३ करोड ४ लाख ९२ हजार रुपैयाँ दायित्व चालु आर्थिक वर्षमा सरेको छ। यसअन्तर्गत सामुदायिक भवन, नाला तथा स्ल्याब ढलान, कल्भर्ट, रिटेनिङ वाल तथा अन्य पूर्वाधार निर्माणका काम छन्।