ब्युनस आयर्स, अर्जेन्टिना, ४ सेप्टेम्बर २०२६ — अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेईले बेलायतसँग लामो समयदेखि जारी फकल्यान्ड्स टापु समूहको सार्वभौमिकता विवादलाई थप चर्काउँदै बेलायती नियन्त्रणमा रहेको उक्त क्षेत्रमा सञ्चालित तेल परियोजनामा संलग्न कम्पनीमाथि कडा कदम चाल्ने घोषणा गरेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको पुरानो तटस्थ नीतिबारे पुनर्विचार गर्न सकिने संकेत दिएको टिप्पणीलाई पनि अर्जेन्टिनाको पक्षमा सम्भावित परिवर्तनका रूपमा प्रस्तुत गरेका छन्।
बिहीबार टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै मिलेईले फकल्यान्ड्सभन्दा करिब २२० किलोमिटर उत्तरमा रहेको ‘सी लायन’ तेल परियोजनामा संलग्न कम्पनीमाथि कारबाही अघि बढाउने बताए। अर्जेन्टिनाले यी टापुलाई ‘माल्भिनास’ भन्ने गर्छ। बेलायती कम्पनी रकहपर एक्सप्लोरेसन र इजरायली कम्पनी नाभिटास पेट्रोलियमले उक्त क्षेत्रमा आगामी महिनाहरूमा ड्रिलिङ सुरु गर्ने र सन् २०२८ मा तेल उत्पादन थाल्ने योजना बनाएका छन्।
मिलेईले समुद्री क्षेत्रमा भइरहेको तेल अन्वेषणलाई अर्जेन्टिनाको हितमाथिको गम्भीर खतरा बताएका छन्। उनले तेल परियोजनामा संलग्न कम्पनीमाथि प्रतिबन्ध बलियो बनाउन संसदमा विधेयक अघि बढाउने बताएका छन्। प्रस्तावित कानुनी व्यवस्थाले परियोजनासँग सम्बन्धित आपूर्तिकर्ता, सेयरधनी तथा सञ्चालकलाई समेत कारबाहीको दायरामा ल्याउन सक्नेछ।
उनले अर्जेन्टिनाको दक्षिणी प्रान्त टिएरा डेल फुएगोमा नौसैनिक अड्डा निर्माणका लागि थप बजेट उपलब्ध गराउने घोषणा पनि गरे। साथै दक्षिण एटलान्टिक क्षेत्रमा अर्जेन्टिनाको उपस्थिति बलियो बनाउन दूरसञ्चार पूर्वाधार सुधार गर्ने योजना अघि सारेका छन्।
मिलेईको पछिल्लो कदम अमेरिकी राष्ट्रपति ट्रम्पले फकल्यान्ड्सको सार्वभौमिकतासम्बन्धी विवादमा अमेरिकाको लामो समयदेखिको तटस्थ धारणा पुनर्विचार गर्न सकिने संकेत दिएको केही दिनपछि आएको हो। ट्रम्पले यसै साता अमेरिकाका सबै नीतिगत धारणाको समीक्षा गर्ने बताएका थिए। पछि बेलायत र अर्जेन्टिनाबीच फेरि द्वन्द्व भए अमेरिकाले बेलायतलाई सहयोग गर्छ कि गर्दैन भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएका थिएनन्।






