क्वालालम्पुर, मलेसिया, सेप्टेम्बर १५, २०२६ — मलेसियाको क्वालालम्पुरस्थित लेबह पुडु क्षेत्रमा आइतबार गरिएको ठूलो अध्यागमन कारबाहीमा ८ नेपालीसहित ४७२ जना विदेशी नागरिक पक्राउ परेका छन्।
क्वालालम्पुर अध्यागमन विभागले अन्य सरकारी निकायसँगको सहकार्यमा सञ्चालन गरेको उक्त कारबाहीमा करिब २ हजार ५०० विदेशी नागरिकको कागजात जाँच गरिएको थियो। क्वालालम्पुर अध्यागमन निर्देशक दातुक हम्सा इन्जाउका अनुसार बिहान करिब ११ बजे सुरु भएको कारबाहीमा १८ देखि ६२ वर्ष उमेर समूहका ४३९ पुरुष र ३३ महिला पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बंगलादेश, म्यानमार, फिलिपिन्स, नेपाल, इन्डोनेसिया, पाकिस्तान, भारत, चीन, जिम्बाब्वे र साउदी अरबका नागरिक छन्। पक्राउ परेकामध्ये बंगलादेशका ३६४, म्यानमारका ५७, फिलिपिन्सका ९, नेपालका ८, इन्डोनेसिया र पाकिस्तानका ७–७, भारतका ६, चीनका ३ तथा जिम्बाब्वे र साउदी अरबका १–१ जना रहेका छन्।
मलेसियाली अध्यागमन अधिकारीका अनुसार पक्राउ परेकाहरू वैध परिचयपत्र वा आवश्यक कागजात नभएको, अनुमति पाएको अवधिभन्दा बढी बसेको, मान्यता नभएका कागजात प्रयोग गरेको तथा अध्यागमन कानुनका विभिन्न प्रावधान उल्लंघन गरेको आरोपमा पक्राउ परेका हुन्। उनीहरू सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि बुकित जलिल अध्यागमन हिरासत केन्द्रमा पठाइएको छ।
कारबाहीमा ३३७ जना अधिकारी तथा सुरक्षाकर्मी परिचालन भएका थिए। तीमध्ये २१८ जना अध्यागमन विभागका अधिकारी थिए भने बाँकी ११९ जना क्वालालम्पुर सिटी हल, घरेलु व्यापार तथा जीवनयापन लागत मन्त्रालय, राष्ट्रिय दर्ता विभाग र स्वास्थ्य मन्त्रालयका कर्मचारी थिए। स्थानीयस्तरबाट विदेशी नागरिकको उपस्थिति तथा शंकास्पद अवैध व्यावसायिक गतिविधिबारे आएका गुनासोपछि कारबाही गरिएको अधिकारीहरूले बताएका छन्।






