डार्विन, अस्ट्रेलिया, २२ अगस्ट २०२६ — अस्ट्रेलियामा जारी टप एन्ड टी–२० क्रिकेट सिरिजमा नेपाल ‘ए’ लगातार दोस्रो खेलमा पराजित भएको छ। नेपाल ‘ए’ शनिबार बंगलादेश हाइ पर्फर्मेन्स टोलीसँग नौ विकेटले पराजित भयो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो। जवाफमा बंगलादेशले १०.२ ओभरमै एक विकेट गुमाएर १०० रन बनाउँदै सहज जित हात पार्यो।
बंगलादेशको जितमा जिशान आलमले २९ बलमा अविजित ५२ रन बनाए। उनले चार छक्का र तीन चौका प्रहार गरे। नेपालका शाहब आलमले बंगलादेशको एक मात्र विकेट लिए।
नेपाल ‘ए’ का लागि कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाए। उनले ४० बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरे। शाहब आलम र बिपिन खत्रीले समान ११ रन बनाए भने रिजन ढकालले १० रन जोडे।
बंगलादेशका एमडी रुबेलले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १८ रन खर्चेर चार विकेट लिए। उनको प्रदर्शनले नेपाललाई कम योगफलमा रोक्न महत्वपूर्ण भूमिका खेलेको थियो।






