मस्कट, ओमान, अक्टोबर १३, २०२६ — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले ओमानलाई ११३ रनले पराजित गरेको छ। नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान १५० रनमा समेटियो।
लक्ष्य पछ्याउने क्रममा ओमान ३९.६ ओभरमा १५० रन बनाउँदै अलआउट भयो। कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए। जय ओडेड्राले २५ र जतिन्दर सिंहले १८ रन जोडे। ओमानले अतिरिक्तबाट नौ रन पाएको थियो।
नेपालका लागि नन्दन यादव र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा करण केसी र ललित राजवंशीले एक–एक विकेट हात पारे।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले आठ विकेट गुमाएर २६३ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ६१ रन बनाए भने ओपनर अर्जुन कुमालले ५९ बलमा ४० रन जोडे। बशिर अहमद र ईशान पाण्डेले समान ३७ रन बनाए। दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए।
सन्दीप जोराले १०, नन्दन यादवले सात र आसिफ शेखले चार रन बनाए। करण केसीले आक्रामक ब्याटिङ गर्दै १६ बलमा चार छक्का र एक चौकासहित ४० रन बनाए। नेपालले अतिरिक्तबाट पाँच रन पाएको थियो।






