सेलाङ्गोर, मलेसिया, ३ सेप्टेम्बर २०२६ — नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ। बिहीबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको हो।
बाङ्गीस्थित यूकेएम–वाईएसडी ओभलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य पछ्याएको नेपालले २१.४ ओभरमा चार विकेट गुमाएर १०७ रन बनाउँदै जित हात पारेको हो।
नेपालको जितमा अर्जुन कुमालले अविजित ४५ रन बनाए। ईशान पाण्डेले २० रनको योगदान दिए भने दीपेन्द्रसिंह ऐरी १२ रनमा अविजित रहे।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको थियो।
मलेसियाका कप्तान सैयद अजिजले सर्वाधिक ३० रन बनाए। अकिल वाहिदले २४ रन जोडे। वीरेन्द्रदीप सिंहले १४ र मुहम्मद सहादत राम्लीले १३ रन बनाए। अन्य कुनै पनि मलेसियाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।






