उदयपुर, सेप्टेम्बर २०, २०२६ — उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा घरेलु विवादका क्रममा श्रीमान्ले हँसियाले घाँटीमा प्रहार गरेको आरोपमा ४५ वर्षीया महिलाको मृत्यु भएको छ।
मृतकको पहिचान बिमला राईका रूपमा भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा उनका ५८ वर्षीय श्रीमान् गन्दु राम राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मदिरा सेवनपछि भएको घरेलु विवादका क्रममा गन्दु रामले बिमलाको घाँटीमा हँसियाले प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गम्भीर घाइते बिमलालाई उपचारका लागि बेल्टारस्थित नगर अस्पताल लगिएको थियो।
प्रहरीका अनुसार बिमलाको अस्पतालमै राति करिब १ः१५ बजे मृत्यु भएको हो।
घटनापछि गन्दु राम आफैं मडिबास प्रहरी चौकीमा पुगेर घटनाबारे जानकारी गराएका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेल्टारमा लगेको जनाएको छ।






