काठमाडौं, अक्टोबर ११, २०२६ — काठमाडौंको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ३६ वर्षीय निशान दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ का ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन्।
विद्यालय परिसरमा प्रधानाध्यापकमाथि कुटपिट भएको सूचना पाएपछि प्रहरी वृत्त बौद्धबाट टोली परिचालन गरिएको थियो। उक्त टोलीले दुवै जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता दानबहादुर थापाका अनुसार दाहालले विद्यालयमा कार्यरत एक महिला शिक्षकमाथि अपशब्द प्रयोग गर्ने र धाकधम्की दिने गरेका थिए। घिमिरेको निर्देशनमा दाहालले प्रधानाध्यापकमाथि कुटपिट गरेको खुलेपछि दुवै जनालाई पक्राउ गरिएको थापाले बताए।
उनीहरूमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरीले चार दिनको म्याद लिएको छ।






