नयाँ दिल्ली, भारत, सेप्टेम्बर १९, २०२६ — अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता तथा व्यवसायीलाई नेपालमा नयाँ लगानीका अवसर खोज्न र सञ्चालनमा रहेका व्यवसाय विस्तार गर्न आग्रह गरेका छन्।
नयाँ दिल्लीमा आफ्नो तीनदिने औपचारिक भ्रमणका क्रममा भारतीय उद्योग परिसंघ (सीआईआई)ले आयोजना गरेको व्यवसाय तथा लगानीसम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै वाग्लेले नेपालमा व्यापार र लगानीका लागि अनुकूल वातावरण रहेको बताए।
उनले डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यका कृषि उत्पादन, वेलनेस पर्यटन र उत्पादनमूलक क्षेत्रमा नेपाल–भारतबीच सहकार्यको महत्वपूर्ण सम्भावना रहेको बताए।
वाग्लेले नेपाललाई केवल बजारका रूपमा नभई उत्पादन, मूल्य अभिवृद्धि र आपूर्ति शृंखला एकीकरणका लागि रणनीतिक साझेदारका रूपमा हेर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी भारतीय व्यवसायीहरूले नेपालको लगानी नीति, प्रोत्साहन तथा क्षेत्रगत लगानीका अवसरप्रति बलियो चासो व्यक्त गरे।






