वासिङ्टन, अमेरिका, अक्टोबर ६, २०२६ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व बैंक समूहका अध्यक्ष अजय बांगासँग वासिङ्टन डीसीमा द्विपक्षीय भेटवार्ता गर्दै बाढीपछिको पुनर्निर्माण, बृहत् आर्थिक सुधार तथा स्रोत परिचालनका विषयमा छलफल गरेका छन्।
बांगाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका वाग्लेले भोटेकोशी–त्रिशूली बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणबारे छलफल गरेको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ।
भेटवार्तामा बृहत् आर्थिक सुधार तथा बीमा र सामाजिक सुरक्षाका लागि करिब १ अर्ब अमेरिकी डलर स्रोत परिचालन गर्ने विषयमा पनि छलफल भएको थियो।
बांगाले नेपालमा बाढीका कारण भएको मानवीय क्षति तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका लागि विश्व बैंकबाट महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले सरकारका नीतिगत तथा संस्थागत सुधारका कदमको प्रशंसा गर्दै पूर्वाधारमा लगानी विस्तार र नेपालभित्र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।






