मुस्ताङ, ९ सेप्टेम्बर २०२६ — मुस्ताङको उत्तरी गाउँपालिका लोमान्थाङमा पछिल्लो २४ घण्टामा सात पटक भूकम्पको धक्का महसुस भएपछि स्थानीय त्रसित भएका छन्। पटकपटकको भूकम्पका कारण ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका घर तथा संरचनामा ठूलो क्षति पुगेको गाउँपालिकाले जनाएको छ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हूर्बू गुरुङका अनुसार निरन्तरको भूकम्पले गाउँपालिका क्षेत्रमा रहेका ठूलो संख्याका घर तथा संरचनामा क्षति पुर्याएको छ।
सदियौँ पुराना माटोका संरचनाका कारण परिचित लोमान्थाङका अधिकांश घरमा भूकम्पपछि चिरा परेको छ। गुरुङका अनुसार गाउँपालिकाभित्रका करिब सबैजसो घरमा कुनै न कुनै प्रकारको क्षति देखिएको छ भने ५० प्रतिशतभन्दा बढी घर तत्काल बस्न नमिल्ने उच्च जोखिमको अवस्थामा पुगेका छन्।
“पुराना र नयाँ केही नभनी भूकम्पले क्षति गरेको छ। धेरैजसो घरहरू चिरिएका छन्,” गुरुङले भने। थप वा लामो समयसम्म भूकम्पको धक्का कायम रहे बाँकी संरचना पनि भत्किन सक्ने जोखिम रहेको उनले बताए।
गुरुङका अनुसार करिब २० देखि ३० प्रतिशत घर पूर्ण रूपमा बस्न अयोग्य भएका छन् भने करिब ५० प्रतिशत घरमा विभिन्न स्तरको क्षति पुगेको प्रारम्भिक अनुमान छ।






