भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि बिहीबार दिउँसो गजेन्द्रनारायण सिंह अस्पतालको एम्बुलेन्स बबिताको घर पुगेको बताइएको छ।
राजविराज नगरपालिका–१४ का वडा सदस्य रितेशकुमार साहका अनुसार करिब १२ बजे तीन जना स्वास्थ्यकर्मी एम्बुलेन्ससहित बबिताको घर पुगेका थिए। उनीहरूले बबिता र नवजात शिशुलाई पुनः अस्पताल लगेका थिए।
पत्रकार सुधा देवले पनि आफूले आफ्नै आँखाअगाडि सुत्केरी महिला र नवजात शिशुलाई अस्पताल लगिएको देखेको बताएकी छन्।
देवका अनुसार बबिता प्रसव व्यथासहित अस्पताल पुगेकी र पाठेघरको मुख खुल्न थालिसकेको अवस्थामा समेत अस्पतालले उचित ध्यान नदिएको आरोप छ। बच्चा जन्मिएपछि पुनः अस्पताल पुग्दा पनि उनीहरूलाई बस्न नदिइएको उनको दाबी छ।
यद्यपि, बबिता किन अस्पतालबाट बाहिर निस्किइन्, अस्पतालले उनलाई आवश्यक उपचार दिन अस्वीकार गरेको थियो वा थिएन तथा घटनामा अस्पतालको जिम्मेवारी कति थियो भन्ने विषयमा उपलब्ध विवरणका आधारमा स्वतन्त्र पुष्टि भइसकेको छैन। घटनाको वास्तविकता यकिन गर्न सम्बन्धित निकायबाट थप छानबिन आवश्यक देखिन्छ।