सप्तरी, अगस्ट २३, २०२६ — सप्तरीमा मृत भेटिएकी दुई वर्षीया नाबालिकालाई उनकै सौतेनी आमाले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
शम्भुनाथ नगरपालिका–३ घर भएका मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार घरबाट हराएको करिब दुई घण्टामा मृत भेटिएकी थिइन्। घरपछाडिको झाडीमा भेटिएको शव प्रहरीले पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाएको छ।
हत्यामा संलग्न आरोपमा १९ वर्षीया मुस्कान खातुनलाई पक्राउ गरिएको सप्तरीका एसपी रूपक खड्काले बताए। मुस्कान मृतक नाबालिकाकी कान्छी आमा हुन्। मोहम्मद इरफान वैदेशिक रोजगारीका लागि कतारमा छन्।
स्थानीयहरूका अनुसार शनिबार जेठी र कान्छी पत्नीबीच सौता र सम्पत्तिको हकदार को हुने भन्ने विषयमा विवाद भएको थियो। पुर्ख्यौली घरमा जेठी पत्नी र छोरी बस्दै आएका थिए भने कान्छी पत्नी नजिकै डेरा लिएर बस्दै आएकी थिइन्।
एसपी खड्काले प्रारम्भिक अनुसन्धानबाट मुस्कानले हत्या गरेको देखिएको र घाउचोट नदेखिएको तथा एक जनाको मात्र संलग्नता रहेको बताए। नाबालिका हराएको सूचना पाएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो। हत्याको विरोधमा स्थानीयले आइतबार दिउँसो केहीबेर रुपनी बजार बन्द गराएका थिए। अहिले बजार र राजमार्गको अवरोध हटेको छ।






