काठमाडौं, अक्टोबर ३, २०२६ — नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि स्वास्थ्य सेवा प्रदान गर्न ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क तयार गरेको छ।
महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार महाधिवेशन स्थल खुलामञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क बनाइएको छ।
पाँचवटा स्टल रहने हेल्थ डेस्कबाट सामान्य स्वास्थ्य परीक्षण तथा आकस्मिक स्वास्थ्य सेवा प्रदान गरिनेछ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका डा. केसीले हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुने जानकारी दिए। उनका अनुसार डेस्कमा ८ जना चिकित्सक, पारामेडिक्स तथा नर्स रहनेछन्। त्यहाँ रक्तचाप र रक्तचिनी परीक्षण, सिटामोल, जीवनजल तथा घाउचोटमा प्रयोग हुने औषधिलगायत सेवा निःशुल्क उपलब्ध गराइनेछ।
प्रतिनिधिलाई तत्काल आकस्मिक उपचारका लागि अस्पताल लैजानुपर्ने अवस्था आएमा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धरास्थित बीपी स्मृति अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ। त्यसका लागि महाधिवेशन स्थलमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ।






