काठमाडौं, अक्टोबर ८, २०२६ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ।
निर्वाचन समितिका अनुसार भारी वर्षा र प्राविधिक समस्याका कारण मतदानको समय परिवर्तन गरी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ।
पार्टी सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि महाधिवेशनका ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन्।
मतदानका लागि राष्ट्रिय सभा गृह र खुलामञ्चमा मतदान केन्द्र स्थापना गरिएको छ। बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘ए’ बाट मतदान गर्नेछन्। अन्य प्रदेश तथा समूहका प्रतिनिधिका लागि खुलामञ्चमा विभिन्न हल तथा मतदान केन्द्र तोकिएको छ।
गण्डकी प्रदेशका प्रतिनिधिका लागि हिमाल हल, मधेस प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थाका प्रतिनिधिका लागि पहाड हल तोकिएको छ। कोशी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिले खुलामञ्चस्थित मतदान केन्द्र ‘बी’ बाट मतदान गर्नेछन्।






