पाल्पा, सेप्टेम्बर २०, २०२६ — पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा आइतबार गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित पाँच जना घाइते भएका छन्।
प्रहरीका अनुसार बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको गाडी दिउँसो करिब साढे ३ बजे सिद्धार्थ राजमार्गअन्तर्गत भालेबासमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खोलामा खसेको थियो।
दुर्घटनामा पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनुसरा खाम्चाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी खाम्चालाई उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
घाइते हुनेमा पूर्वखोला गाउँपालिका–१ का २९ वर्षीय चालक नरबहादुर राना, सोही स्थानका ५० वर्षीय कृष्णबहादुर राजमगर, पूर्वखोला गाउँपालिका–४ घर भई हाल तानसेन नगरपालिका–४ भगवतीटोल बस्ने २८ वर्षीया मनकुमारी सारु, उनकी ७ वर्षीया छोरी सइरस सारु र पूर्वखोला गाउँपालिका–४ की ५ वर्षीया सायरा खाम्चा रहेका छन्। सायरा मृतककी नातिनी हुन्।
प्रहरीले घाइते पाँचै जनाको तत्काल उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको जनाएको छ।






