न्युयोर्क, अमेरिका, सेप्टेम्बर २५, २०२६ — एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका बीच नेपालको भौगोलिक अवस्थालाई अवसरमा रूपान्तरण गर्दै नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ का रूपमा अघि बढाउनुपर्ने परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन्।
न्युयोर्कमा एसिया सोसाइटीद्वारा शुक्रबार आयोजित ‘स्टिरिङ नेपाल्स फ्युचर इन एसियाज राइजिङ सेन्चुरी’ अर्थात् ‘एसियाको उदाउँदो शताब्दीमा नेपालको भविष्यको मार्गदर्शन’ विषयक कार्यक्रममा सम्बोधन गर्दै खनालले नेपालले आफ्नो भौगोलिक अवस्थालाई राष्ट्रिय आकाङ्क्षाको सीमाका रूपमा लिन नहुने बताए।
परराष्ट्रमन्त्रीको निजी सचिवालयका अनुसार खनालले नेपाललाई परम्परागत रूपमा ‘सानो मुलुक’ का रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिँदै नेपाल रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेको बताए।
‘नेपाल सानो होइन। नेपाल रणनीतिक रूपमा सही स्थानमा छ,’ खनालले भने, ‘हाम्रा छिमेकीको आकार भूगोलको यथार्थ हो, तर त्यो हाम्रो महत्त्वाकाङ्क्षाको सीमा कहिल्यै बन्नु हुँदैन।’
खनालले नेपालको भूगोल र जनसङ्ख्यालाई अन्य मुलुकसँग तुलना गर्दै नेपाललाई आकारका आधारमा मात्र सानो मुलुकका रूपमा बुझ्न नहुने धारणा राखे।






