नेपालगञ्ज, सेप्टेम्बर २३, २०२६ — लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले मोटरसाइकल रोक्न खोज्दा नरोकेपछि हवाई फायर गरी १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनसहित २४ वर्षीय भारतीय नागरिकलाई नेपालगञ्जबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, बहराइच जिल्ला, रुपैडिया, चकिया रोडका २४ वर्षीय नदिम राई रहेका छन्।
प्रहरीका अनुसार भारतको बहराइचबाट खैरो हेरोइन संकलन गरी लुम्बिनी र कर्णाली प्रदेशका जिल्लामा बिक्री गर्ने समूहको निगरानी गर्ने क्रममा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले राईलाई नेपालगञ्ज उपमहानगरपालिका–१४ मा भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गर्दा रोक्न खोजेको थियो।
प्रहरीले दिएको चेतावनीपछि पनि मोटरसाइकल नरोकेपछि दुई राउन्ड हवाई फायर गरिएको जनाएको छ। त्यसपछि राईलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
खानतलासी गर्दा राईको साथबाट १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले भारतीय नम्बर प्लेट UP40J0657 को मोटरसाइकल र एउटा मोबाइल फोनसमेत बरामद गरेको छ।






