म्याग्दी, सेप्टेम्बर ७, २०२६ — म्याग्दीको बेनी नगरपालिका–२, खबरामा ७२ वर्षीया महिलाको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका २५ वर्षीय नाति आशिष बरुवाल पक्राउ परेका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा घटना घरायसी विवादपछि भएको जनाएको छ।
मृतक मनकुमारी घिमिरे हुन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार उनकी छोरीका छोरा अन्नपूर्ण गाउँपालिका–६, घारका बरुवालले सोमबार बिहान करिब ११ः३० बजे मनकुमारीमाथि धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएकी मनकुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि बरुवाल फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको नेतृत्वमा १५ सदस्यीय प्रहरी टोली खोजतलासमा परिचालन गरिएको थियो। खोजीका क्रममा उनलाई बेनी नगरपालिका–२ स्थित हाडेभिरमा भागिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरुवाल केही समयअघि अमेरिकाबाट नेपाल फर्किएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनी सन् २०२१ मा अमेरिका गएका थिए। अमेरिकामा काम गर्ने क्रममा आफू कार्यरत रेस्टुरेन्टमा आगजनी गरेको अभियोगमा दोषी ठहर भएपछि उनले त्यहाँ तीन वर्ष जेल सजाय भोगेका र त्यसपछि नेपाल डिपोर्ट भएका थिए।
प्रहरीका अनुसार बरुवाल जनैपूर्णिमाका दिन मावली घर अर्थात् हजुरआमाको घर खबरामा आएका थिए। उनको व्यवहार तथा बानीका कारण परिवारमा असहज परिस्थिति उत्पन्न भएको र उनलाई घर फर्कन भनिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्यसपछि घरायसी विषयमा विवाद भएको र सोही क्रममा मनकुमारीमाथि आक्रमण भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ।






