धनुषा, अक्टोबर २५, २०२६ — धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतीमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियारले प्रहार गरेको हुन सक्ने घाउ देखिएपछि प्रहरीले उनको हत्या भएको आशंका गरेको छ।
उनका श्रीमान् ३५ वर्षीय उमेश यादव पनि घरबाट करिब एक किलोमिटर टाढा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। उमेश मिथिला बिहारी नगरपालिका–४ भरतपुरका बासिन्दा हुन्।
उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए।
मृतक दम्पतीका चार वर्षीय छोरा छन्। बालकको एउटा तिघ्रामा पनि हतियार प्रहारबाट लागेको हुन सक्ने घाउ देखिएको छ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घटनाको प्रकृति शंकास्पद देखिएको बताएका छन्। घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए।






