पोखरा, ४ सेप्टेम्बर २०२६ — पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शुक्रबार बिहान करिब ४:५० बजे पोखरा महानगरपालिका–१८ स्थित गैरीचौर मोडमा सेदीबाट लेकसाइडतर्फ जाँदै गरेको कार अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाका बेला कारमा चार जना सवार थिए।
उद्धारका लागि बैदाम प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको नेतृत्वमा १५ सदस्यीय नेपाल प्रहरीको टोली र सशस्त्र प्रहरी बल, नेपालको नम्बर २४ गण कालिका, कास्कीबाट सहायक प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा १३ सदस्यीय टोली परिचालन गरिएको थियो।
उद्धार टोलीले भारतको बिहारस्थित रक्सौलका २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवलाई जीवितै उद्धार गरेको थियो। उनीहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ।






