गोरखा, अक्टोबर ११, २०२६ — उङ्गिलुङ खोलाको बाढीले गोरखामा दुईवटा पुल बगाउनुका साथै माछीखोला बजारमा क्षति पुर्याएको छ। बाढीमा परी चार जना बेपत्ता भएका छन्।
चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाको बाढी बूढीगण्डकी नदीमा मिसिएपछि धार्चे गाउँपालिकालाई जोड्ने माछीखोला पुल बगाएको छ। आरुघाटमा सोती र मान्बु जोड्ने पुल पनि बाढीले बगाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले माछीखोला बजारमा क्षति पुर्याएको छ।
बाढीले उङ्गिलुङ खोलाको किनारमा रहेका चारवटा पशु गोठ र त्यहाँ राखिएका १५ वटा याक पनि बगाएको छ। ती पशुको हेरचाह गरिरहेका चार जना अझै बेपत्ता छन्।






