धादिङ, १३ सेप्टेम्बर २०२६ — रसुवा क्षेत्रमा आएको बाढीपछि त्रिशूली नदीले सडक कटान गर्दा भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतल बजार सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सडक खोल्ने काम अघि बढाएको छ।
शीतल बजारमा नदीतर्फको सडकको ठूलो भाग कटानमा परेर भासिएपछि तत्काल पर्खाल निर्माण गरेर सडक सञ्चालन गर्न कठिन भएको थियो। त्यसपछि नेपाली सेनाको मध्य पृतनाअन्तर्गत कालीप्रसाद गणको इन्जिनियर टोली परिचालन गरी क्षतिग्रस्त भाग हटाउने र नयाँ ट्र्याक निर्माणका लागि ब्लास्टिङ सुरु गरिएको हो।
क्षतिग्रस्त तथा अस्थिर सडक संरचना हटाएर नयाँ सडक ट्र्याक तयार गरी यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको छ। सडकको भौगोलिक अवस्था र जोखिमलाई ध्यानमा राखेर आवश्यक प्राविधिक व्यवस्थापनसहित काम अघि बढाइएको जनाइएको छ।
अगस्ट २६ मा रसुवा क्षेत्रमा आएको ठूलो बाढीपछि त्रिशूली नदीको बहाव बढ्दा पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान भएको थियो। कटानका कारण धादिङको शीतल बजार, कृष्णभीर र परेवाभीरलगायत क्षेत्रमा सडक भासिएपछि काठमाडौं–चितवन र काठमाडौं–पोखरा आवागमनमा गम्भीर असर परेको छ।
शीतल बजार क्षेत्रमा नदीतर्फको सडकको ठूलो हिस्सा नै बगेकाले सामान्य मर्मतबाट तत्काल सडक सञ्चालन गर्न कठिन भएको प्राविधिकहरूको निष्कर्ष छ। त्यसैले क्षतिग्रस्त संरचना हटाएर ब्लास्टिङमार्फत सडकको नयाँ स्वरूप तयार गर्ने काम थालिएको हो।






