मुगु, अक्टोबर १३, २०२६ — मुगुको छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडामा धारिलो हतियार प्रहारबाट ७५ वर्षीय धनबिर कामीको हत्या भएको छ। हत्याको अभियोगमा प्रहरीले सोही ठाउँका ३२ वर्षीय अजबिर कामीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार अजबिरले असोज २७ गते बिहान करिब ८:२० बजे धनबिरमाथि खुडा प्रहार गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका धनबिरलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि फरार भएका अजबिरको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक रविराज थपलियाको कमान्डमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले बिहान करिब ९:३० बजे छायाँनाथ रारा नगरपालिका–३ स्थित रारा ताल जाने बाटोको जंगलमा भागिरहेको अवस्थामा अजबिरलाई खुडासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।






